दोलखा, २७ भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा ६२औँ राष्ट्रिय बाल दिवसको पूर्व अवसरमा आधारभूत तथा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा वडा नम्बर ५ स्थित हलेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका आधारभूत तथा माध्यमिक तहका गरी कुल २३ विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगिताको आधारभूत तहमा नवज्योति आधारभूत विद्यालयका एवन श्रेष्ठ प्रथम भए भने हलेश्वर माध्यमिक विद्यालयकी विपाशा खड्का द्वितीय र सर्सेपु आधारभूत विद्यालयकी अजिता खड्का तृतीय भइन् । यसैगरी माध्यमिक तहमा हलेश्वर माध्यमिक विद्यालयका हेमन तामाङ प्रथम भए भने भूमेगुम्बा माध्यमिक विद्यालयकी एलिशा शेर्पा द्वितीय र निलकण्ठेश्वर माध्यमिक विद्यालयकी सन्जिता कार्की तृतीय भइन्। दुवै तहमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले बालबालिकाको प्रतिभा पहिचान र प्रस्फुटनका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण रहेको बताए। उनले बालबालिकालाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने, आत्मविश्वासी र सिर्जनशील बनाउन विद्यालय तथा स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।


