दोलखा, २३ साउन । दोलखाको चरणावती त्रिवेणी रामघाट धाममा रहेको ज्येष्ठ नागरिक सेवा भवनमा सेवा लिइरहेका एक जना ज्येष्ठ नागरिक आफै वृद्धाश्रमको आजिवन सदस्य बनेका छन् ।
चर्णावती त्रिवेणी विकास तथा प्रवर्द्दन संघले सञ्चालन गरेको जेष्ठ नागरिक सेवा भवनमा सेवा लिइरहेका ८४ वर्षका अनन्तराज कार्कीले नियमानुसार पचास हजार रुपैयाँ नगद सहयोग गर्दै संघको आजिवन सदस्यता लिएका हुन् । तामाकोसी गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा कार्की गत फागुन २३ गतेदेखि उक्त सेवा भवनमा सेवा लिइरहेका छन् । आफू वृद्ध अवस्थामा पुगिसकेकोले मरेर गए पनि आफ्नो नाम संघमा आजिवन रहिरहने र संघको विकासमा आफ्नो पनि योगदान रहने भएकाले आफू संघको आजिवन सदस्य बनेको कार्कीले जनतापेजसँग बताए ।
संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका समेत गरी झण्डै साँढे ३ करोड लागतमा निर्मित १८ कोठे ज्येष्ठ नागरिक सेवा भवन सन्चालनका लागि सहयोग जुटाउन गत वर्ष महायज्ञ लगाइएको थियो । उक्त महायज्ञमा सङ्कलित एक करोडभन्दा बढी रकमको अक्षयकोष खडा गरी सोही कोषबाट प्राप्त ब्याजले हाल वृद्धाश्रम सन्चालन भइरहेको छ । चालिस जना क्षमताको उक्त सेवा भवनमा हाल चार जना वृद्धवृद्धाहरुले सेवा लिइरहेका छन् ।
संघका अध्यक्ष गुण बहादुर बुढाथोकीले अक्षयकोषको ब्याजले मात्र सेवा भवनका् आर्थिक व्यायभार धान्न कठिन हुने देखिएकोले दोलखा जिल्लाका सबै स्थानीय तहहरुबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताए । त्यस्तै अन्य मनकारी व्यक्ति तथा संघ–संस्थाहरुले पनि सहयोग गर्नेेमा आफूहरु विश्वस्त रहेको बुढाथोकीको भनाइ छ ।