चरिकोट, २७ असोज । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित तामाकोसी नदी किनारमा मङ्गलबार बिहान मृत अवस्थामा भेटिएका महिला र बालकको पहिचान खुलेको छ।
उनीहरू मेलुङ गाउँपालिका–१ भँगेरीका अन्दाजी ३० वर्षीया आस्मा बस्नेत खड्का र उनका १० वर्षीय छोरा आदित्य खड्का रहेको भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिएका छन्। प्राप्त जानकारीअनुसार उनीहरू गत असोज २३ गते काठमाडौंबाट हराएका थिए। वैदेशिक रोजगारीबाट फर्किएका आस्माका श्रीमान् दिनेश खड्काले श्रीमती र छोरा हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
मङ्गलबार बिहान स्थानीयले तामाकोसी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवैको शव बाबियोले बाँधिएको अवस्थामा नदी किनारमा रूखको जरामा अड्किएको अवस्थामा फेला परेको थियो। मृतकको शव अहिले सदरमुकाम चरिकोट स्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको छ । प्रहरीले मृतकको श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।


