दोेलखा, १५ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीमा स्थानीय हाटबजार सुरु भएको छ । सुरीको केन्द्रमा अवस्थित इविथानमा गणतन्त्र दिवसको अवसर पारेर सोमबारदेखि हाटबजार सुरु भएको हो ।
स्थानीय स्तरमा उत्पादित सामाग्रीको बजार स्थानीय स्तरमै खोज्ने प्रयास स्वरुप हाटबजार सुरु गरिएको एकीकृत हाट बजार ब्यबस्थापन समितिका अध्यक्ष हर्क बहादुर तामाङले जानकारी दिए । उनका अनुसार हाटबजारमा विक्रि हुन नसकेको सामान अन्तमा समिति आफैले खरिद गरिदिने व्यवस्था समेत छ । सोमबार हाटको पहिलो दिन करिव ३ लाख बराबरको कारोबार भएको समितिको दावी छ ।
हाट भर्नका लागि साविकको सुरी गाविसका सबैजसो वडाबाट स्थानीयहरु आफुले उत्पादन गरेको तरकारी, फलफुल, जडिबुटी, स्थानीय स्तरमा निर्मित काठ, फलाम तथा धातुका सामान, बाँस तथा निँगालो चोयाका सामान आदि विक्रि वितरण तथा सट्टापट्टाका लागि आएका थिए । गौरीशङ्कर गाउँपालिकाको केन्द्र नजिकै रहेको इविथान बजारमा अब प्रत्येक महिनाको १५ गते हाटबजार सञ्चालन हुनेछ ।