सिङ्गटी, ०७ असार । विभिन्न पाँच बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै जलवायु परिवर्तन सम्बन्धी च्छो–रोल्पा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय, गौरीशङ्कर गाउँपालिका दोलखा र गौरीशङ्कर संरक्षण क्षेत्रको आयोजनामा दोलखामा असार ५ गतेदेखि सुरू भएको उक्त कार्यक्रम शनिबार सिङ्गटीमा सम्पन्न भएको हो । गौरीशङ्करको रक्षा, हिमालदेखि तराईसम्मको सुरक्षा भन्ने नारा सहित सिङ्गटी स्थित कालिनाग माविमा सम्पन्न च्छोरोल्पा संवाद कार्यक्रम पश्चात जारी गरिएको पाँच बुँदे प्रतिवद्धता पत्रमा गौरीशङ्कर हिमालदेखि तामाकोशी जलाधारको फेदीसम्म एउटै कार्यक्षेत्र युक्त जलवायु सङ्कट प्रतिकार्य सञ्जाल निर्माण, परिस्करण र परिचालन गर्ने, गौरीशङ्कर–तामाकोशी क्षेत्रलाई सामुदायिक अनुकुलन प्रणालीको नमूना क्षेत्र बनाउन ठोस योजना अघि बढाउने, गौरीशङ्कर हिमाललाई साँस्कृतिक शिखरको पहिचान स्थापित गराउन पहल गर्ने लगायका विषय समेटिएको छ ।

गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री कुन्दनराज काफ्ले, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल लगायत मन्त्रालयका विभिन्न पदाधिकारी, जिल्ला स्थित विभिन्न स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामुदायिक वनका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, किसान आदिको सहभागिता रहेको थियो । कार्यक्रममा च्छोरोल्पा हिमतालको विगतदेखि वर्तमान, जलवायु परिवर्तनको अवस्था, त्यसलाई रोक्न भएका पहल, चुनौती एवम् सम्भावना, जलवायुमैत्री जीवनशैली विकासमा दोलखाका स्थानीय तहहरूको भूमिका, लगायतका विषयमा विभिन्न पाँचओटा कार्यपत्रको प्रस्तुती र छलफल भएको थियो ।


नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज विशाल खड्का बागमती प्रदेशको वन तथा वातावरण मन्त्री हुँदा परिकल्पना गरिएको उक्त च्छोरोल्पा संवाद कार्यक्रम लामो समयको अन्तरालपछि सम्पन्न भएको हो । दोलखाको गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित च्छोरोल्पा हिमताल र गौरीशङ्कर हिमाल एवम् दोलखा जिल्लाका आठ ओटा स्थानीय तहलाई छुँदै बग्ने तामाकोशी नदिलाई केन्द्रविन्दुमा राखेर आयोजना गरिएको यो संवाद कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिन दोलखाका स्थानीय सरकारहरूसँग पहल गरिने कार्यक्रम मूल व्यवस्थापन समितिका सदस्य प्रशान्त कार्कीले जानकारी दिए ।

कार्यक्रममा दोलखाको गौरीशङ्कर गाउँपालिका स्थित सिमिगाउँमा जन्मिएर सर्वोच्च शिखर सगरमाथा आरोहणका साथै चुचुरोमै वारिस्ता कफि बनाएर विश्व रेकर्ड कायम गरेका दाबुटी शेर्पालाई सम्मान पनि गरिएको थियो ।



