दोलखा, १३ असोज । दोलखा सदरमुकाम चरिकोट स्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी ८३ करोड नाघेको छ ।
संस्थाको शनिबार सम्पन्न २६ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष अर्जुन कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार गत असार मशान्तसम्मको संस्थाको कुल पुँजी ८३ करोड ७९ लाख ४० हजार ८ सय ४७ रहेको छ । प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्त्य सम्म संस्थाबाट ६३ करोड १० लाख भन्दा बढी ऋण लगानी भएको छ । ९ हजार १ सय बढी शेयर सदस्य र ३ हजार ५ सय बढी बाल बचतकर्ता रहेको हाम्रो जनकल्याण साकोसको असार मशान्तसम्मको शेयर पुँजी ५ करोड ९७ लाख ८८ हजार १ सय रुपैयाँ रहेको छ ।
संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, नेकपा समाजवादीका केन्द्रिय नेता शिव प्रसाद भण्डारी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका सञ्चालक सदस्य जिवसराज खड्का, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्का, दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
साधारणसभाको अवसरमा संस्थाबाट ऋण लिई कृषि, उद्योग लगायत व्यवसाय गरेका शेयर सदस्यहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको विक्रि तथा प्रदर्शनी गरिनुको साथै शेयर सदस्यका लागि स्वास्थ्य जाँच शिविरको समेत आयोजना गरिएको थियो ।