दोलखा, ०७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ३ मा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी घ्याङसुकाठोकर उपशाखाको आयोजना एवं लक्ष्मी मावि घ्याङको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस जिल्ला शाखाको रहेको थियो । मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले आफैले अठ्ठाइसौँ पटक रक्तदान गरी उद्घाटन गरेको कार्यक्रममा ४ महिला, २ विद्यार्थी समेत गरी २० जनाले रक्तदान गरेको लक्ष्मी माविका प्रधानाध्यापक इन्द्रबहादुर लामाले जानकारी दिए । कार्यक्रममा रेडक्रस जिल्ला सभापति ईश्वरी प्रसाद दहाल, घ्याङसुकाठोकर उपशाखाका सभापति मकर लामा, पवटी उपशाखाका सभापति शिव कुमार भुजेल लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रयोगशालाका अनुसार ४५ केजी भन्दा माथि तौल भएका १८ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघेका, रक्तचापको दर बढीमा १५०/९५ र कम्तीमा १००/७० सम्म भएका, कुनै पनि रोगको नियमित औषधि सेवन नगरेका र महिलाको हकमा बच्चा जन्मिएको एक वर्ष भएका नियमित स्तनपान नगराउने जोसुकैले रक्तदान गर्न सकिने बताएको छ । उल्लेखित सबै स्वास्थ्य अवस्था ठिक भएका व्यक्तिहरुले उमेर ५० वर्ष नाघेको भएता पनि पहिला एक दुई पटक रक्तदान गरेको छ भने ८० वर्ष सम्म पनि रक्तदान गर्न सकिने जनाइएको छ । एक जना स्वस्थ व्यक्तिले हरेक ३/३ महिनाको फरकमा रक्तदान गरेमा बोन म्यारो बलियो र स्वस्थ हुनुको साथै शरिर पनि तन्दुरुस्त र निरोगी रहने विभिन्न अधययनहरुले देखाएका छन् ।