काठमाण्डौ । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या गरेको आरोपमा प्रहरीले दोलखाका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ का २९ वर्षका विराट ठकुरी रहेका छन् । प्रहरीका अनुसार ठकुरीले शिवरात्रीको पूर्वसन्ध्यामा गाँजा खरिद र विक्रि सम्बन्धी विवादमा ओखलढुङ्गाका मानेभन्ज्याङ गाउँपालिका ६ का राईको हत्या गरेका थिए । घटनास्थलको सिसिटिभी फुटेजको अध्ययनको आधारमा घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठकुरी बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए ।


ठकुरीले प्रहरीलाई दिएको बयान अनुसार राईसँग पोकाको पाँच सय रुपैयाँ दिनेगरी गाँजा लिएको, तर लेनदेनका क्रममा पाँच हजार रुपैयाँ मागेपछि विवाद भएको थियो । राई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति भएको र उनले पाँच हजार पैसा नदिए आफ्नो समुदायका मानिस बोलाउने धम्कि समेत दिएपछि हिडेका ठकुरीलाई राईले पछ्याउन थालेका थिए । जति गर्दा पनि पछ्याउन नछाडेपछि धोबीखोला करिडोर नजिकै ढुङ्गाले प्रहार गरी हत्या गरेर नजिकैको शौचालय छेउमा फोहोरले शव छोपेर ठकुरी हिडेका थिए ।
भोलिपल्ट शिवरात्रीको दिन अपरान्ह राईको शव फेला परेपछि सुरु गरिएको अनुसन्धानका क्रममा ठकुरीलाई प्रहरीले भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो । काठमाण्डौ प्रहरीका अनुसार ठकुरीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ ।
