चरिकोट, २० फागुन । दोलखामा सोमबारदेखि सुरु हुने प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रित बहादुर खड्का स्मृती भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक दोलखा युवा सञ्जालले आइतबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा बागमती प्रदेशका महानगर बाहेकका विभिन्न स्थानीय तहहरुको सहभागिता रहने सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीले जानकारी दिए ।
फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५१ हजार, द्वितियले १ लाख ५१ हजार, तृतीयले ५१ हजार र सान्त्वना हुने टिमले २१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सदरमुकाम चरिकोट स्थित भीमेश्वर रङ्गशालामा हुने प्रतियोगितामा काठमाण्डौ र रसुवा बाहेकका अधिकांश जिल्लाबाट खेलाडीहरु सहभागि हुने अध्यक्ष अधिकारीको भनाई छ ।
खेल मार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ सञ्जालले “प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद कमरेड रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” आयोजना गरेको हो । दश वर्षे जनयुद्धका महान सहिद, ‘पूर्वको चम्किलो तारा”का नामले चिनिने रितबहादुर खड्का प्रतापको व्यक्तित्व, कृतित्व र स्मृतिको निरन्तरता स्वरुप सहिद सप्ताहको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको सञ्जालका उपाध्यक्ष नवराज अर्यालले बताए ।