दोलखा, ३० माघ । फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन देशका विभिन्न स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । विशेषगरी कर्णाली प्रदेशका १२ ओटा स्थानीय तहमा जनयुद्ध दिवसको अवसरमा विदा दिइएको छ ।
नेकपा माओवादी केन्द्रले जितेका धेरैजसो स्थानीय तहहरुमा फागुन १ मा सार्वजनिक विदा दिएको छ । यसरी विदा दिने स्थानीय तहहरुमा रुकुम पश्चिमका चौरजहारी र आठबिसकोट नगरपालिका तथा त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिका रहेका छन् । बाँफिकोट भने कांग्रेसले जितेको स्थानीय तह हो । यस्तै जुम्लाको सिञ्जा गाउँपालिका, कालिकोटको पलाताँ, शुभकालिका र पचालझरना गाउँपालिकाले पनि जनयुद्ध दिवसको दिन बिदा दिएका छन् । जाजरकोटको नलगाड नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ भने माओवादीले जितेको सुर्खेतको एक मात्र चौकुने गाउँपालिकामा पनि सार्वजनिक बिदा दिइएको छ । माओवादीले जितेको डोल्पाको मुड्केचुल्ला गाउँपालिकाले पनि बिदा दिएको छ ।


यस्तै, बागमती प्रदेशको जिल्ला नुवाकोटका चार ओटा स्थानीय तहले जनयुद्ध दिवसका अवसरमा विदा दिएका छन् । जिल्लाका बेलकोटगढी नगरपालिका, ककनी, पन्चकन्या र दुप्चेश्वर नगरपाकिकाले बिदा दिने घोषणा गरेका हुन् । यी स्थानीय तहहरूले बेग्लाबेग्लै सूचना जारी गर्दै आफ्नो क्षेत्रअन्तर्गत रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी, शैक्षिक क्षेत्र तथा संघ संस्थामा फागुन १ गते बिदा दिने निर्णय गरेका हुन् । उता रोल्पाको माडी गाउँपालिकाले पनि जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिएको छ । सर्लाहीको बागमती नगरपालिकामा पनि बिहिबार जनयुद्ध दिवसको मनाउन सार्वजनिक विदा दिइएको छ । यसैगरी पाँचथरको मिक्लाजुङ, सोलुखुम्बुको थुलुङ दुधकोशी, भोजपुरको रामप्रसाद राई, खोटाङको खोटेहाङ, उदयपुरको लिम्चिङबुङ, बाग्लुङको ताराखोला, ताप्जेलुङको फक्ताङलुङमा पनि विदा दिइएको छ । विदा दिन मिल्ने कि नमिल्ने भन्ने विषयमा विभिन्न मत अभिमत भए पनि स्थानीय तह स्वायत्त भएकाले विदा दिइएको ती पालिकाहरुको दावी छ ।
तर माओवादी केन्द्रले तीन ओटा स्थानीय तह जितेको दोलखामा कुनै पनि स्थानीय तहले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिएका छैनन् । दोलखाको विगु, गौरीशङ्कर र शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष निर्वाचित छन् । माओवादीले जितेका तर बिदा नदिइएका स्थानीय तहहरूले विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने निर्णय गरेको जनाइएको छ । माओवादी केन्द्र दोलखाले आफ्ना सबै पालिका स्तरका कमिटिलाई विविध रचनात्मक कार्यक्रम गरी जनयुद्ध दिवस मनाउन निर्देशन दिएको छ ।
विगतमा जनयुद्ध दिवसका दिन विदा दिने सरकारको निर्णय भए पनि पछि उक्त विदाका सम्बन्धमा मुद्धा परेपछि सर्वाेच्च अदालतले जनयुद्ध दिवसका दिन विदा नदिन अन्तरिम आदेश जारी गरेसँगै सरकारले पनि विदा नदिने जनाएको थियो । तर जनयुद्धकै जगमा टेकेर देशमा व्यवस्था परिवर्तन भइसकेको र नयाँ संविधान बनेर लागु समेत अवस्थामा जनयुद्ध दिवसलाई कहिले साझा र कहिले कुनै पार्टी विशेषको मात्रै बनाइनु मनासिव नभएको आलोचना समेत हुने गरेको छ ।
