दोलखा । मनसुन भित्रिएर वर्षातको सुरुवात भएसँगै मनसुनबाट हुन सक्ने क्षति र त्यसबाट आउनसक्ने विपत्तिको समाधानको पूर्व तयारी स्वरुप नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको मनसुन पूर्व तयारी बैठक सम्पन्न भएको छ ।
नेपाल सरकार गृह मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्ला मध्य दोलखा पनि बाढी–पहिरोको उच्च जोखिममा रहेका कारण त्यसबाट हुन सक्ने जोखिम र क्षति न्यूनिकरणका लागि पूर्व तयारी कार्यशाला गरिएको हो । यो वर्ष नेपालमा औषत भन्दा धेरै पानी पर्ने, जसका कारण पाँच लाख घरमा क्षति भइ १८ लाख भन्दा बढी मानिस बाढी पहिरोबाट विस्थापित हुने अनुमान मौसमविद्हरुले गरेका छन् ।
भविष्यमा आउन सक्ने विपत्तिलाई न्यूनिकरण गर्न रेडक्रस र रेडक्रसकर्मीको प्रमुख भूमिका रहने भएकोले त्यसैको तयारीका लागि कार्यशाला आयोजना गरिएको रेडक्रस दोलखाका सभापति इश्वरी प्रसाद दहालले जानकारी दिए । कार्यशालखाका सहभागिरुलाई प्रशिक्षकहरु केशव सेढाई र शिवजी प्रधानले मनसुनी जोखिम न्यूनिकरण र उद्धार तथा राहतमा रेडक्रसकर्मीको भूमिका, बिधि लगायतका विषयमा सहजीकरण गरेका थिए ।
रेडक्रस दोलखाको सदस्य एवम विपत् व्यवस्थापन उप समितिको संयोजक राधादेवी मास्केको अध्यक्षतामा सम्पन्न उक्त कार्यशाला बैठकमा रेडक्रस दोलखाका पूर्व सभापति गोकर्ण प्रसाद पोखरेल, उपसभापति रिता रिमाल, पवटी उपशाखाका सभापति शिव कुमार भुजेल, पिपलबोट उपशाखाका सभापति राजन श्रेष्ठ, भीम माविका प्रधानाध्यापक शेषनाथ आचार्य लगायतले सम्भावित जोखिम र त्यसको न्यूनिकरण तथा उद्धारका सम्बन्धमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए । दोलखा बजार स्थित भीम माविमा सम्पन्न कार्यशालामा जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, जिल्ला भित्रका रेडक्रस उपशाखाका सभापति, सचिव एवम प्रतिनिधिहरु, शिक्षक, सुरक्षाकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।