दोलखा, २१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त सरुवा–बढुवा रोगको अन्त्य हुने बताएका छन् ।
विहिबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री बस्नेतले स्वास्थ्यका क्षेत्रमा अब कामको आधारमा मात्रै सरुवा र बढुवाको काम हुने बताए । आफु पहिले स्वास्थ्य राज्यमन्त्री हुँदा वर्षको दुई पटक मात्रै सरुवा–बढुवा हुने व्यवस्था गरेकोमा सो व्यवस्था २ वर्ष मात्रै टिकेको स्मरण गर्दै मन्त्री बस्नेतले भने, “अब बाह्रै महिना सरुवा बढुवाको काम हुँदैन ।” उनले स्वास्थ्य क्षेत्रमा धेरै बेथिती रहेको उल्लेख गर्दै जथाभावी विदेश भ्रमणको अन्त्य गरिने र गएकाहरुसँग पनि उपलब्धी माग गरिने समेत बताए ।
त्यसैगरी मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा कमिसनको लागि मात्रै सामान खरिद हुने गरेको भन्दै अबदेखि त्यसको पनि अन्त्य हुने बताए । धरै अनावश्यक उपकरणहरु खरिद गरेर ल्याईएका कारण कतिपय खिया लागेर प्रयोग समेत नभएको भन्दै उनले एक साताभित्र त्यसको रिपोर्ट आफुलाई बुझाउन मन्त्रालयका सचिवलाई निर्देशन समेत दिएका छन् ।
२०५८ सालमा स्वास्थ्य राज्यमन्त्री बनेका बस्नेत २२ वर्षपछि सोही मन्त्रालयको प्रमुख नेतृत्वदायी भूमिकामा पुगेका हुन् ।



