दोलखा, ०१ पौष । दोलखाको दक्षिणी मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधीमा डाँडाखर्क माविले ह्याट्रिक गरेको छ ।
लगातार तेस्रो जितसँगै डाँडाखर्कले रनिङ शिल्ड पूर्ण रुपमा आफनो बनाएको छ । यस पटकको प्रतियोगितामा उक्त विद्यालयले ९ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १७ पदक प्राप्त गर्यो । त्यस्तै ५ स्वर्ण, ८ रजत र ४ कास्य सहित त्रिभुवन मावि मेलुङले द्वितिय स्थान ओगट्न सफल भएको छ भने ४ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित लक्ष्मी मावि घ्याङ तृतिय भएको छ ।
मेलुङ गाउँपालिका भरका ११ ओटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा सत्यश्वर मावि पवटीले २ स्वर्ण, ४ रजत र ३ कास्य, भँगेरी मावि पवटीले २ स्वर्ण, १ रजत र ३ कास्य, आजादी माविले १ स्वर्ण, २ रजत र १ कास्य तथा भीम मावि बुद्धचोकले १ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेका छन् । प्रतियोगितामा सहभागि भूमेस्थान माविले २ रजत र १ कास्य प्राप्त गरिरहँदा कालिका मावि ४ कास्य र जुके मावि १ कास्य पदकमा चित्त बुझाउन बाध्य भए । भीम मावि धनुकेले भने यस पटकको प्रतियोगितामा पदकको खाता खोल्न सकेन ।
बिहिबार सुरु भइ आइतबार सम्पन्न भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।