दोलखा, ५ पौष । दोलखामा फरक फरक घटनामा परी तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो भने दुई जना मृत फेला परेका हुन् ।
शुक्रबार दिउँसो लामोसाँघु जिरी सडक अन्तर्गत भीमेश्वर नगरपालिका वडा नम्बर ६ महादेव खोलामा हाइलक्स गाडीको ठक्करबाट सोही वडाका ५४ वर्षका ज्ञान बहादुर तामाङको ज्यान गएको छ । सिन्धुपाल्चोकबाट दोलखातर्फ आउँदै गरेको प्रदेश नम्बर ३ ०१(०२४ च २६०४ नम्बरको हाइलक्स गाडीले ठक्कर दिएर घाइते भएका तामाङलाई उपचारका लागि सदरमुकाम चरिकोट स्थित च्छो(रोल्पा जनरल अस्पतालमा ल्याईए पनि उपचारको क्रममा डाक्टरले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकृत दाताराम अधिकारीले जानकारी दिए । प्रहरीले गाडीका चालक सिन्धुपाल्चोकको लिसङ्खुपाखर ७ का ५३ वर्षिय जेठा तामाङलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी दोलखाकै कालिन्चोक गाउँपालिकामा शुक्रबार दुई जना मृत फेला परेका छन् । कालिन्चोक गाउँपालिका वडा नम्बर १ का बिर्ख बहादुर थामीका २२ वर्षका छोरा कर्णबहादुर थामी सोही गाउँपालिका वडा नम्बर ९ कटुवाचौर स्थित एक व्यक्तिको गोठमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । त्यस्तै सोही गाउँपालिका वडा नम्बर ६ की ८३ वर्षिया पन्चु थामी सोही गाउँपालिका वडा नम्बर ४ भूतदह स्थित ढुङ्गाको ओडारमा मृत फेला परेकी छिन् । गत मंसिर २३ गतेदेखि बेपत्ता उनलाई खोजी गर्ने क्रममा मृत फेला पारिएको हो । उनको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याईएको छ ।