चरिकोट, १३ साउन । दोलखा प्रहरीले जिल्लाको कालिन्चोक गाउँपालिकाकी एक वृद्धाको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।
कालिन्चोक ६ पाटागाउँकी ८० वर्षकी पदम कुमारी सुनुवारको हत्यामा संलग्न सोही गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २२ वर्षका बिक्रम कार्कीलाई आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा सार्वजनिक गरिएको हो । नीज कार्की साउन ९ गते राती मृतक सुनुवारकै घरमा बास बसेको र राती सुतेको बेला वृद्धाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


साउन १० गते विहान वृद्धा मृत फेला परेपछि दोलखा प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाँबाट विशेष तालिमप्राप्त कुकुर सहितको के नाइन टोली माग गरी घटनास्थलको अनुषन्धान गरेको थियो । प्रारम्भिक अनुषन्धानबाट कार्कीले हत्या गरेको खुलेपछि उनलाई साउन ११ गते नियन्त्रणमा लिइएको थियो । कार्कीलाई जिल्ला अदालत दोलखाबाट ५ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ ।
