मेलुङ, २२ भदौ । दोलखाको मेलुङ गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । एक्काइसौँ निजामति दिवसको अवसर पारेर शनिबार गाउँपालिका कार्यालयमा आयोजित विशेष समारोहका बीच ६ जना कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्जय शिवाकोटी, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रामकाजी काफ्ले, प्राविधिक शाखाका गौतम रिमाल, स्वास्थ शाखाका राम योगी, वडा सचिव योगेश श्रेष्ठ र कार्यालय सहयोगी मेनुका कार्की रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य लगायतले नगद र सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । कर्मचारीहरुको प्रोत्साहन र कार्यसम्पादनमा हौसला बढाउनको लागि सम्मान गर्ने परिपाटीको सुरुवात भएको अध्यक्ष तामाङले जनतापेजलाई जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष एवं गाउँपालिकाका सामाजिक विकास प्रमुख इश्वर कोईराला, वडा नम्बर ७ का वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नवराज खड्का सहितका जनप्रतिनिधीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।