काठमाण्डौ, २८ असोज । दशैं सुरु भएकै दिन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरेको हो ।
निगमले आइतबारसाँझ विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पाेरेशनबाट पनि मूल्य घटेर आएको तथा चाडपर्वको समयमा आम उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० हाललाई यथावत रहनेगरी पेट्रोल तथा डिजेलको मूल्य घटाईएको जनाएको छ । घटाईएको मूल्य आइतबार मध्यराती १२ बजेपछि लागु हुनेछ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाण्डौमा प्रतिलिटर १७३ र डिजेल तथा मट्टितेलको १६८ रुपैयाँमा झरेको छ । दोलखा सदरमुकाम चरिकोटमा काठमाण्डौमा भन्दा लिटरमा ३ रुपैयाँ बढी मूल्य पर्ने गरेको छ ।