दोलखा, २३ साउन । नेपालमा मनसुन सक्रिय रहेकाले अहिले पनि देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाण्डौ उपत्यकामा विहान पानी परेर रोकिए पनि दिउँसो पुनः पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको बाह्रबिसेमा १ सय ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा यस क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मङ्गलबार र बुधबार देशका विभिन्न स्थानहरुमा अतिभारी र भारी वर्षा हुन सक्ने जानकारी गराउँदै ३४ जिल्लालाई उच्च जोखिमको सूचिमा राखेको थियो । विभागका अनुसार दोलखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन, ताप्लेजुङ, पाँचथर, रसुवा, संखुवासभा, तेह्रथुम लगायतका जिल्ला उच्च जोखिममा रहेका छन् ।
राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारी र भारी वर्षाको कारण मनसुनजन्य विपदका घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै उच्च जोखिममा रहेका जिल्लाका जनसमुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।