चरीकोट, २६ साउन । सामान्यतः विद्यालय भन्ने बित्तिकै पढाइ, लेखाइ, कक्षाकार्य र गृहकार्य सम्झिने परिपाटीलाई तोड्दै दोलखा सदरमुकाम चरीकोटको एक विद्यालय फरक ढङ्गबाट शैक्षिक गतिविधिमा सक्रिय छ ।
सम्भवतः दोलखाकै एक मात्र मन्टेश्वरी प्रविधिमा आधारित एपेक्स स्कुल फरक र प्रभावकारी शैक्षिक गतिविधिमा आफूलाई अग्रस्थानमा राख्न सफल छ । उक्त विद्यालयमा सोमबार लाखेनाच प्रदर्शन गरियो । पढ्न र लेख्न जान्नु मात्रै शिक्षा नभएको भन्दै संस्कृतिको जगेर्ना र संरक्षणमा पनि विद्यार्थीहरूलाई अग्रसर गराउन विद्यालयमा लाखेनाच (लाखे जात्रा) आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नसिव कायस्थले जानकारी दिए ।

जात्रामा विद्यालयकै विद्यार्थीहरू एलेक्स, जेनिस, बिनजन र आर्सेस लगायतले लाखेको मुखौटा र बाजाको व्यवस्थापन गरेका थिए । विद्यालयको प्राङ्गणमै आयोजित लाखेनाच कार्यक्रममा एपेक्स स्कुलका विद्यार्थीका अलावा कोरियाबाट आएका पाहुना विद्यार्थीहरूले समेत भरपुर मनोरञ्जन लिएका थिए ।


यस्ता गतिविधिले विद्यार्थीहरू किताबमा मात्र आधारित नभइ व्यवहारिक जीवनमा समेत अब्बल बन्ने विद्यालयको अपेक्षा छ । विद्यालयले गत शुक्रबार पनि जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्वका अवसरमा विशेष कार्यक्रम गरेको थियो । यस्ता सांस्कृतिक अवसरहरूमा आयोजित अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूमा परम्परागत संस्कार र संस्कृति प्रतिको चासो वृद्धि भइ संरक्षणमा समेत टेवा पुग्ने प्रिन्सिपल कायस्थको भनाइ छ ।




