दोलखा, ०२ मंसिर । मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध भएको तामाकोशी-मन्थली सडक सुचारु भएको छ ।
दोलखाको किर्नेटारमा स्थानीय प्रशासन र जनप्रतिनिधीको रहोबरमा पिडित पक्ष र गाडी धनीबीच भएको छलफलमा पिडितलाई उचित क्षतिपुर्ति, घाइतेको उपचार र दोषीलाई कारबाही गर्ने सहमति भएपछि शनिबार विहानदेखि अवरुद्ध सडक अपरान्हबाट सुचारु भएको हो । तामाकोशीबाट मन्थली तर्फ गइरहेको बागमती प्रदेश ०१, ००३ क ९३५९ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आइरहेको बा २९ प ११६२ नम्बरको मोटरसाइकललाई तामाकोशी गाउँपालिका १ सिस्नेरी स्थित सडकमा ठक्कर दिँदा मोटरसाइकल चालक तामाकोशी १ माझीगाउँका २२ वर्षका शुशिल माझीको मृत्यु भएको थियो भने मोटरसाइकलको पछाडी सवार सोही स्थानका माइकल माझी गम्भिर घाइते भएका थिए ।
सहमति पश्चात मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा ल्याइएको छ भने घाइतेलाई थप उपचारका लागि काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक जीवन श्रेष्ठले जनतापेजलाई जानकारी दिए ।