दोलखा, १२ साउन । बागमती प्रदेशको अर्थमन्त्रीमा दोलखाका सांसद कुन्दनराज काफ्ले नियुक्त भएका छन् ।
बुधबार बिना विभागिय मन्त्रीको रुपमा सपथ लिएका काफ्लेले शनिबार अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् । यसअघि बिहिबार मूख्यमन्त्री बहादुर सिं लामाले काफ्लेलाई सामाजिक विकास मन्त्रालय सम्हाल्न भनेका थिए । तर काफ्लेले आर्थिक मामिला मन्त्रालयको अडान नछोडेपछि बिहिबार नै आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर शनिबार मूख्यमन्त्री लामाले काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका हुन् । काफ्लेले पाएको सामाजिक विकास मन्त्रालय भने हरिप्रभा खड्गीले पाएकी छन् ।
खड्गी सहितका चार मन्त्रीलाई शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराएका छन्, जसमा सुरजचन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानून, मिनकृष्ण महर्जनले युवा तथा खेलकुद र विमल ठकुरीले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।