सिङ्गटी, १७ मंसिर । दोलखाको विगु गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी खोटाङको केपीलासगढी गाउँपालिकाले जितेको छ ।
बुधबार विहान भएको फाइनल खेलमा आयोजक विगु गाउँपालिकालाई १–१–०–१ को सेटमा पराजित गर्दै केपीलासगढीले उपाधी उचालेको हो । उपाधीसँगै केपीलासगढीले नगद एक लाख रूपैयाँ पनि हात पारेको छ । आयोजक विगु गाउँपालिकाले भने उपविजेतामा चित्त बुझाउँदै ७५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।


त्यसैगरी, ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै दोलखाको वैतेश्वर गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । उसले नगद ५० हजार पुरस्कार प्राप्त ग¥यो भने सान्त्वना हुन सफल खिजिदेम्बा गाउँपालिकाले नगद २० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा केपीलासगढीकी विनिता राई सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरिन् । त्यसैगरी विगुकी विविसा ठकूरी बेस्ट डिफेण्डर, विगुकै जिती तामाङ बेस्ट ब्लकर र बैतेश्वरकी रिया तामाङ बेस्ट सर्भर घोषित भए । उनीहरूले जनही २ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाए ।
बिजेता टोली तथा खेलाडीहरूलाई विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, पूर्व अध्यक्ष युधिस्ठिर खड्का, विगु ४ का वडाध्यक्ष रामचन्द्र खड्का लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । विगु गाउँपालिकाको सहयोगमा महिला भलिबल संघ विगुको आयोजनामा आइतबारदेखि सुरू भएको प्रतियोगितामा दोलखा, ओखलढुङ्गा, खोटाङ लगायत जिल्लाका ७ ओटा टिमले सहभागिता जनाएका थिए । महिला भलिबलका क्षेत्रमा दोलखामा सबैभन्दा धेरै पुरस्कार राशीको यो नै पहिलो प्रतियोगिता हो ।



