काठमाण्डौ, ३० बैशाख । हाल नेपालमा रहेको पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावका कारण आइतबार देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी बर्षाको समेत सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसमको यो अवस्था आगामी तीन दिनसम्म लम्बिन सक्ने महाशाखाको अनुमान छ । महाशाखाले जारी मौसमका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह पनि गरेको छ ।