काठमाण्डौ, २४ असार । मनसुनी रेखा नेपालतर्फ सर्दै गएको हुँदा सोमबारदेखि नेपालका धेरै स्थानमा वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि मनसुनी रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकाले नेपालका धेरै स्थानमा वर्षा हुने जनाएको छ । अहिले मनसुनी रेखा सरदर भन्दा दक्षिणतर्फ छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ता आदी स्थानको आकाशको क्षेत्रलाई बुझिन्छ । मनसुनी रेखा उत्तरतिर सर्दा एरिया कभरेजको हिसाबले देशका धेरै स्थानमा पानी पर्ने महर्जनको भनाई छ । आइतबार भने देशका कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।