चरीकोट, ०५ माघ । भनिन्छ, राजनीति खेल हो । यही खेलमा दोलखा कांग्रेसका एक नेता इन्ट्रि गर्नै नपाई बाहिरिनु परेको छ ।
बागमती प्रदेश सभाका सदस्य (निवर्तमान आर्थिक मामिला मन्त्री समेत) कुन्दनराज काफ्लेले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिने मनासायका साथ सोमबार पदबाट राजीनामा दिएपछि जिल्लाको चुनावी सरगर्मी एकाएक बढेको थियो । नेपाली कम्युनिष्ट पार्टीबाट विशाल खड्का र एमालेबाट पार्वत गुरुङको टिकट फिक्स भइसकेको दोलखामा काफ्लेको पनि इन्ट्रि हुने कुरालाई चासोका साथ हेरिएको थियो । सामाजिक सञ्जालदेखि चियाचौतारीसम्म विभिन्न खालका अड्कलहरु भइरहेका थिए ।
तर, काफ्ले भने यो खेलमा राम्रोसँग इन्ट्रि पनि हुन नपाइ रनआउट हुनुपरेको छ, कारण हो उम्मेद्वारको टिकट अर्का नेता अजयबाबु शिवाकोटीको हातमा जानु । त्यसो त शिवाकोटीको नाम चर्चामै नआएको भने होइन, कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा कांग्रेस केन्द्रिय कार्यसमिति बनेपछि विशेष महाधिवेशनमा सहभागि भएका र गगनका प्रिय पात्र शिवाकोटीले टिकट ल्याउने अड्कलबाजी पहिलेदेखि नै भएको थियो । त्यसमाथि काफ्लेले गगन थापा सकिएको, कांग्रेसमा युवा आफूहरु मात्र भएको जस्ता अभिव्यक्ति दिएर थापालाई झनै चिढ्याएका थिए ।
यति हुँदाहुँदै सामाजिक सञ्जालमा लामो फेहरिस्त उल्लेख गरेर सोमबार दौडिएर हेटौडा पुगेर हतारहतार प्रदेश सांसदको पद छाडेर संघीय सांसद बन्न सपना देख्न थालेका काफ्लेको सपना भने राम्ररी निदाउन नपाउँदै तुहिएको छ । यति सबै हुँदासम्म शान्त बसेका शिवाकोटीले टिकटको बलमा एकैचोटी छक्का प्रहार गरेपछि काफ्लेलाई भुँइको टिप्न खोज्दा गोजीको पोखिएको जस्तो भएको छ ।
अर्कोतर्फ, कांग्रेस दोलखाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बनाउन १ नम्बरमा नाम सिफारिस गरेका तारा बहादुर कोइरालाले त आफ्नो टिकट पक्का ठानेर चुनावी दौडधुप नै थालिसकेका थिए । यो बीचमा कांग्रेसको विशेष महाधिवेशन हुनु, सानेपाको चियापसलमा गगन-विश्वप्रकाश प्रतिको व्यङ्ग्यत्मक कविता प्रस्तुत गर्नु र मिडियामा आवेगपूर्ण प्रतिक्रिया दिनु नै कोइरालाका लागि टिकट फलामको चिउरा बन्न पुगेको कांग्रेसकै नेता कार्यकर्ताहरुको अड्कल रहेको छ ।



