चरिकोट, २४ असार । सहकारी विभागले सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरुको विश्वास आर्जनमा केन्द्रित हुन सहकारी संघ÷संस्थालाई निर्देशन दिएको छ ।
विभागले हालै एक निर्देशन जारी गर्दै विश्व अर्थतन्त्रसँगै नेपालको वित्तिय क्षेत्रमा परेको असरका कारण सहकारीका सदस्यहरुको नियमित आय अवरुद्ध भइ सहकारी संघ/संस्थाहरुको व्यवसाय समेत प्रभावित भएको हुँदा सदस्यहरुको वित्तिय कारोबारलाई सहज बनाई सहकारी क्षेत्रको पुर्नःउत्थानका लागि भूमिका खेल्न सबै सहकारीहरुलाई आग्रह गरेको छ ।
विभागले जारी गरेको ५ बुँदे निर्देशनमा ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्याङ्कन गरी मागका आधारमा गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका एवं कर्जा पूर्नतालिकीकरणको सुविधा नलिएका ऋणी सदस्यहरुले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी सावालाई तीन महिनाका लागि पुर्नतालिकीकरणको व्यवस्था गर्न भनिएको छ । त्यस्तै, चालु आर्थिक वर्षको ब्याज आगामी श्रावण १५ सम्म बुझाएमा यसै आर्थिक वर्षको आयको रुपमा गणना गर्न र छुट सुविधा प्रदान गर्न पनि विभागले निर्देशन दिएको छ ।
विभागले आफ्ना बचतकर्ता र ऋणी सदस्यहरुवीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन जोड दिन र कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघसंस्थाहरुले पनि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन लगायतका कार्यक्रममा जोड दिइ सदस्यको व्यवसायीकरणमा जोड दिन पनि निर्देशन दिएको छ ।