दोलखा । जिल्लाको गौरीशङ्कर गाउँपालिकाका भूमिहिन नागरिकहरुलाई जग्गाधनी पुर्जा वितरण गर्नका लागि निस्सा उपलब्ध गराइएको छ ।
राष्ट्रिय भूमि आयोग दोलखाले मङ्गलबार गाउँवस्तीमै पुगेर निस्सा वितरण गरेको हो । गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको उपस्थितीमा वडा नम्बर ३, ६, ७ र ८ का ४७ जना भूमिहिन सुकुम्बासी नागरिकहरुलाई जग्गाको निस्सा उपलब्ध गराइएको आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललित बहादुर मगरले जनाए । सो अवसरमा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष कार्कीले निस्सा वितरणपछि अब जग्गाधनी पुर्जा प्राप्तीका लागि आवश्यक कदम चालिने र गाउँपालिकाका कोही पनि नागरिक भूमिहिन सुकुम्बासीको रुपमा नहरने दृढता व्यक्त गरे ।
निस्सा वितरण कार्यक्रममा गौरीशङ्कर ६ का वडा अध्यक्ष निमासाङ्गे शेर्पा, वडा नम्बर ७ का अध्यक्ष सोनाम शेर्पा, वडा नम्बर ८ का अध्यक्ष दावारिन्जी शेर्पा, भूमि आयोग दोलखाकी सदस्य रिता रिमाल, नापी कार्यालय दोलखाका प्रमुख सिर्जना कटुवाल लगायतको उपस्थिती रहेको थियो ।
भूमि आयोग दोलखाका अनुसार हालसम्म जिल्लाका ९ स्थानीय तह मध्ये भीमेस्वर नगरपालिकाका २७ र गौरीशङ्कर गाउँपालिकाका ४७ जनालाई निस्सा प्रदान गरिएको छ । अन्य स्थानीय तहका भूमिहिन नागरिकहरुलाई पनि छिट्टै आवश्यक प्रक्रिया पूरा गरेर निस्सा उपलब्ध गराइने आयोगकी सदस्य रिमालले जानकारी दिइन् । त्यसका लागि बाँकी सातै ओटा स्थानीय तहको लगत सङ्कलनको काम सकिइसकेको आयोगले जनाएको छ ।



