मेलुङ, ०९ माघ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ।
पवटीको रमाइलोचोकमा बुधबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक युवराज खड्का, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य लगायतको उपस्थितीमा प्रहरी पोष्टको सुरुवात गरिएको हो । पोष्टमा तत्काललाई प्रहरी सहायक निरिक्षकको नेतृत्वमा प्रहरी टोली खटिने छ । मेलुङ गाउँपालिकाको सबैभन्दा ठूलो वडामा हुने विभिन्न किसिमका घटनामा तत्काल प्रहरीको पहुँच स्थापना गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गर्ने उद्देश्यले प्रहरी पोष्टको स्थापना भएको अध्यक्ष थोकरले जनतापेजलाई जानकारी दिए ।


एक वर्ष अघि माघ १५ गते रमाइलोचोकमा मूख्य कार्यालय रहेको हाम्रो सूर्याेदय साकोसमा ३२ लाख भन्दा बढी रकम चोरी भएपछि उक्त स्थानमा प्रहरी चौकीको स्थापनाको माग झनै बढेको थियो । यसअघि सो क्षेत्रमा कुनै घटना घटेमा भीमेश्वर नगरपालिकाको किँरातीछाप वा शैलुङ गाउँपालिकाको भैँसेबाट प्रहरी परिचालन गर्नुपर्ने बाध्यता थियो । तर अब पवटीमै प्रहरी चौकी स्थापना हुनुले यो क्षेत्रको शान्ति सुरक्षामा थप सहज हुने स्थानीयबासीको विश्वास रहेको छ । प्रहरी पोष्ट स्थापना कार्यक्रममा मेलुङ १ का वडाध्यक्ष इश्वर कोइराला, विभिन्न दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो ।
