सुरी, ०३ बैशाख । दोलखाको गौरीशङ्कर गाउँपालिकाले नयाँ वर्षको दिनदेखि सुरू गरेको रैथाने कृषि तथा खेल मेला सम्पन्न भएको छ ।
स्थानीय कृषि उपजको प्रवर्द्धन र रैथाने बाली संरक्षण गर्ने उद्देश्यले आयोजित कृषि प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर ६ प्रथम भएको छ । त्यसैगरी वडा नम्बर ४ ले द्वितीय र वडा नम्बर ५ तृतीय भएको छ । ती वडाले पुरस्कार स्वरूप क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


त्यसैगरी मेलाका अवसरमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ६ ले जितेको छ । बिहिबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १–० ले पराजित गर्दै उपाधी जितेको हो । त्यस्तै वडा नम्बर ३ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ७ तेस्रो हुन सफल भएको छ ।
त्यस्तै वडा स्तरीय भलिबल तर्फ भने वडा नम्बर ५ ले उपाधी हात पारेको छ । प्रतियोगितामा वडा नम्बर ६ द्वितीय र वडा नम्बर २ तृतीय भएका छन् ।


तीन दिनसम्म चलेको मेलाले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन एवम् परम्परागत बाली र बीउबिजनको संरक्षण तथा किसानहरूबीच अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नुको साथै गाउँपालिका भित्रका खेल प्रतिभाहरूको पहिचान, उजागर तथा युवाहरूमा खेलकुदप्रतिको रूचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको पालिका अध्यक्ष विश्वास कार्कीको भनाइ छ ।


मेला समापनकै अवसर पारेर गौरीशङ्कर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुको साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्की, उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, निवर्तमान अध्यक्ष स्वयं बहादुर खड्का, गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरू लगायत सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।




