चरिकोट, २२ भदौ । दोलखा सदरमुकाम चरिकोटमा शनिबार रोचक र उदाहरणीय प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको नजिता झनै उदाहरणीय र सन्देशमूलक समेत बन्यो ।
चरिकोट स्थित एपेक्स स्कुलले आयोजना गरेको “एपेक्स समावेशी टेबल टेनिस प्रतियोगिता”मा एपेक्स स्कुलका विद्यार्थी र एसओएस चिन्ड्रेन्स भिलेज नेपाल भक्तपुरका फरक क्षमताका बालबालिकाले टेबल टेनिस खेले । प्रतियोगितामा छात्रा तर्फको तेस्रो बाहेक सबै उपाधी एसओएसका फरक क्षमताका प्रतियोगीहरुले जितेका छन् । छात्रा तर्फ एसओएसकी पूजा सोती प्रथम र अनु थामा द्वितिय हुँदा एपेक्सकी उप्रेतीले तेस्रो स्थान हासिल गरिन् । त्यस्तै छात्रा तर्फ एसओएसका पुकार राई, शिव थापा र प्रेम तामाङ क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् ।
अवसर पाए फरक क्षमता भएका बालबालिकाले पनि गर्न सक्छन् भन्ने सन्देश दिन आयोजना गरिएको प्रतियोगिताले वास्तवमै सुन्दर सन्देश प्रवाह गरेको एपेक्स स्कुलका प्रिन्सिपल नसिब कायस्थले बताए । मनमा चाहना भए सफलता हासिल गर्न शारीरिक अशक्तता कहिल्यै पनि बाधक नबन्ने सन्देश प्रतियोगिताले दिएको उनको भनाई छ ।
सो प्रतियोगिताको परिकल्पना एवं संयोजन एपेक्स स्कुलका यो साताका छाँया प्रिन्सिपल रामचन्द्र थापा (जो आफै पनि फरक क्षमताका हुन् र एसओएस मार्फत नै आफ्नो अध्ययन पूरा गरेका हुन्) ले गरेका हुन् । प्रतियोगिताको बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसीले एक समारोहका बीच उद्घाटन गरेका थिए ।