चरिकोट, १८ फागुन । दोलखाको सदरमुकाम चरिकोटमा गत फागुन ६ गतेदेखि सुरु भएको तेस्रो बृहत दोलखा महोत्सव २०८१ आइतबार सम्पन्न भएको छ ।
१३ दिनसम्म सन्चालित महोत्सवको ५० हजार भनदा बढीले अवलोकन गरेको र चार करोड भन्दा बढी आर्थिक कारोबार भएको मूख्य आयोजक दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेस उप्रेतीले जनतापेजलाई जानकारी दिए । यद्यपी महोत्सवको आधिकारिक आयव्याय एवम् उपलब्धीहरु निकट भविष्यमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उप्रेतीको भनाइ छ ।


‘दोलखाको पहिचान कृषि, पर्यटन र पानी, स्थानीय उत्पादन र उद्यमशीलतामा लगानी’ भन्ने नाराका साथ आयोजित महोत्सवमा कृषि, घरेलु उद्योग, हस्तकला, लगायत विभिन्न व्यवसायिक उत्पादनका एक सय भन्दा बढी प्रदर्शनी तथा विक्रि स्टलहरु राखिएका थिए । महोत्सव अवधीभर दिनहुँ ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रम एवम् मनोरन्जनका गतिविधिहरु सन्चालन भएका थिए ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न महोत्सवको समापन समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर लगायतको सहभागिता रहेको थियो ।
