चरिकोट, ३ असोज । दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ ।
एकाइगत रूपमा साधारण सभा गर्ने संस्थाको निर्णयअनुसार शनिबार पहिलो एकाइअन्तर्गत भीमेश्वर नगरपालिका बाहेक जिल्लाका १९ स्थानमा साधारण सभा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाका १० स्थानमा भने आइतबार साधारण सभा हुने संस्थाले जनाएको छ ।
संस्थाले जारी गरेको सूचनाअनुसार काठमाडौंमा बसोबास गर्ने शेयर सदस्यका लागि आगामी असोज १० गते पेप्सीकोलास्थित न्यु त्रिशक्ति पार्टी प्यालेसमा साधारण सभा आयोजना हुनेछ । एकाइगत साधारण सभाबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा मुख्य निर्णय पारित गर्ने प्रतिनिधिमूलक साधारण सभा भने असोज १३ गते संस्थाको मुख्य कार्यालय चरिकोटस्थित बीचबजारमा हुने जनाइएको छ ।

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनलगायत विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, संस्थाको विनियम, कार्यविधि तथा नियमावली संशोधन तथा पुनर्लेखन, सहकारी एकीकरणलगायतका विषय पनि साधारण सभाको कार्यसूचीमा समावेश गरिएको छ ।
संस्थाले आफ्ना शेयर सदस्यलाई वार्षिक प्रतिवेदन अध्ययनका लागि वेबसाइट, युट्युब तथा फेसबुकमार्फत समेत उपलब्ध गराएको जनाएको छ ।


