दोलखा, २० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी पक्राउ परेका छन् ।
बुधबार जिल्ला अदालत काठमाण्डौबाट अनुषन्धानका लागि पक्राउ पुर्जी लिएको प्रहरीले बुधबार साँझ बुटवल स्थित एक होटलबाट रायमाझीलाई पक्राउ गरिएको जनाएको छ । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ । प्रहरीले छोरा सन्दिपसँगै एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक विरुद्ध पनि पक्राउ अनुमति लिए पनि उनीहरु भने पक्राउ परेका छैनन् ।
झापा, मोरङ, सुनसरी, गोरखा, दाङ लगायत जिल्लाका नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत्र १२ मा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा मंगलबार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको प्रहरीले बुधबार नै पूर्व गृहसचिव (हाल उपराष्ट्रपति कार्यालयका सचिव) टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएपछि आफै प्रहरी परिसर पुगेका सचिव पाण्डे माथि गृहसचिव भएका बेला नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाईदिने आश्वासन दिएर गृह मन्त्रालयमा पेश भएको प्रतिवेदनमा नाम थप्न संलग्न भएको र स्वयंले गिरोहका सदस्यबाट पैसा लिएको आरोप छ ।


