दोलखा, ०१ श्रावण । आफ्ना उपप्रमुखको निधन भएपछि दोलखाको गौरीशङ्कर गाउँपालिकाले मङ्गलबार पालिकाभर शोक विदा दिने भएको छ ।
उपप्रमुख श्यामसुन्दर तमाङको आइतबार उपचारका क्रममा निधन भएपछि गाउँपालिका अध्यक्ष विश्वास कार्कीले सोमबार शोक वक्तव्य जारी गर्दै मङ्गलबार शोक विदाको घोषणा गरेका हुन् । वक्तव्यमा गौरीशङ्कर गाउँपालिकाको विकास, न्याय निरुपण, मेलमिलाप तथा सेवाप्रवाहमा उपाध्यक्ष तमाङको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनको निधनले गाउँपालिकालाई ठूलो क्षती भएको जनाइएको छ ।
पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि भक्तपुरको मध्यपुर थिमी अस्पतालमा भर्ना भएका तमाङलाई मुटुमा पनि समस्या देखिएपछि काठमाण्डौको बाँसबारी स्थित सहिद गङ्गालाल हृदयरोग केन्द्र रिफर गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार निधन भएको हो ।
तमाङको निधनप्रति जिल्ला स्थित राजनीतिक दलहरुले पनि दुख व्यक्त गरेका छन् । नेपाली कांग्रेस दोलखा र नेकपा माओवादी केन्द्रले शोक वक्तव्य जारी गर्दै तमाङको निधनले दोलखाको राजनीतिमा अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।