दोलखा, १७ जेठ । नवनिर्मित ज्येष्ठ नागरिक सेवा भवनलाई सञ्चालन गर्ने र आसपासको क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्य सहित दोलखाको प्रसिद्ध चरणावती धाममा आयोजना गरिएको महापुराणबाट दुई करोड भन्दा बढी सङ्कलन भएको छ ।
गत जेठ ७ गते सुरु भइ सोमबार सम्पन्न भएको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञका क्रममा १ करोड ५ लाख बराबरको रकम नगदै र बाँकी घोषणाबाट सङ्कलन भएको हो । घोषणा गर्नेमध्ये व्यक्तिगत तर्फ करिव १३ लाख रहेको छ भने बाँकी जिल्ला स्थित विभिन्न स्थानीय तहहरुको घोषणा रहेको आयोजक चरणावती त्रिवेणी विकास तथा प्रवद्र्धन संघका अध्यक्ष गुणबहादुर बुढाथोेकीले जानकारी दिनुभयो ।
महायज्ञमा व्यक्तिगत तर्फ सबै भन्दा धेरै वैतेश्वर गाउँपालिकाकी शारादा उप्रेती घिमिरेले १५ लाख २ हजार दान गरेकी छिन् । स्थानीय तहतर्फ वैतेश्वर गाउँपालिकाले १५ लाख ६० हजार, शैलुङ गाउँपालिकाले १५ लाख, मेलुङ र तामाकोशी गाउँपालिका तथा जिरी नगरपालिकाले १० लाखका दरले रकम अक्षयकोषमा जम्मा गर्ने घोेषणा गरेका छन् भने अन्य बाँकी कालिञ्चोक, विगु र गौरीशङ्करले पनि अन्यकै हाराहारीमा अक्षयकोषमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको आयोजकले जनाएको छ । भीमेश्वर नगरपालिकाले भने धामको विभिन्न विकासमा आवश्यक सहयोग गर्ने भन्दै तत्कालै एउटा भवन निर्माण गरिदिने घोषणा गरेको छ ।
महायज्ञको सम्बन्धमा छिटै पत्रकार सम्मेलन गरी आम्दानी र खर्च लगायत सम्पूर्ण विवरण सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।