मार्बु, २८ असोज । विजयादशमीको अवसर पारेर दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा बुधबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
स्थानीय खेलप्रतिभाको पहिचान र खेलकुदको विकासलाई लक्ष्य गर्दै आयोजित प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरे । सयपत्री जनजागरण युवा क्लबको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका नौवटै स्थानीय तहबाट सहभागी १३ टिमले उपाधिसँगै आकर्षक नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले एक लाख रुपैयाँ, द्वितीयले ७५ हजार रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ग्रामीण क्षेत्रमा खेलकुदप्रतिको आकर्षण बढाउन तथा स्थानीयस्तरमा रहेका खेलप्रतिभालाई प्रतिस्पर्धाको अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनिष लामाले जानकारी दिए ।
विजयादशमीको अवसरमा आयोजित प्रतियोगिताले खेलकुदमार्फत युवाबीच आपसी सद्भाव, एकता र अनुशासनको भावना विकास गर्ने अपेक्षा गरिएको छ । वैतेश्वर ७ का वडाध्यक्ष मिनकुमार शिवाकोटीले स्थानीय युवाको सक्रियतामा आयोजना हुने यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्न र प्रतिभावान् खेलाडीलाई थप प्रोत्साहित गर्न सहयोग पुग्ने विश्वास गरे ।


