दोलखा, १२ असोज । दोलखा प्रहरीले शुक्रबार पनि थप ३ केजी सुन बरामद गरेको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सुनसँगै केशव तामाङलाई पनि पक्राउ गरेको छ । यसअघि बरामद भएको सुन र त्यसमा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गरेको भोलिपल्टै प्रहरीले फेरी सुन बरामद गरेको हो । यसअघि सुन बरामद भएकै ठाउँ विगु २ जामुने स्थित एक होटलबाटै सुन सहित तामाङलाई पक्राउ गरिएको हो ।
प्रहरीले बुधबार राती जामुनेबाट ४ केजी सुन बरामद गरेको थियो । सो सुन ओसारपसारमा संलग्त भएको भन्दै जामुने, चरिकोट लगायत विभिन्न स्थानबाट पक्राउ परेका विगु गाउँपालिका १ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु १ गोंगरका २० वर्षीय माधव मगर, विगु १ लामावगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र १८ वर्षीय पेम्बा तामाङलाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दहालको चिन भ्रमणका क्रममा भएको सम्झौता अनुसार दोलखाको उत्तरी लामावगरको फ्लाक नाका खुलेसँगै सोही नाका भएर सुन भित्रिएको आशङ्का गरिएको छ । पक्राउ परेकाहरु उपर छानविन जारी छ ।