दोलखा, १३ असोज । दोलखाको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० मा झण्डै एक करोड मुनाफा आर्जन गरेको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार सम्पन्न २६ औँ साधारणसभाका अवसरमा संस्थाले गत आर्थिक वर्षमा ९८ लाख ६२ हजार ७३७ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी गराईएको हो । साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्म संस्थाको कुल शेयर पुँजी मात्रै २ करोड ९० लाख ७४ हजार ६ सय पुगेको छ भने सदस्यहरुबाट कुल २४ करोड ६३ लाख २७ हजार बचत सङ्कलन भएको छ । कुल १७४० शेयर सदस्य र कुल पुँजी ३२ करोड ८१ लाख भन्दा बढी रहेको संस्थाबाट गत आर्थिक वर्षको अन्त्यसम्म २० करोड २२ लाख रुपैयाँ ऋण लगानीमा रहेको छ ।
संस्थाका अध्यक्ष तारा प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिव भगवान बस्नेतले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पदमराज शिवाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका सञ्चालक समिति सदस्य जिवसराज खड्का र जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष भूमिराज खड्काले संयुक्त रुपमा उद्घाटन गरेको साधारण सभामा संस्थाका असल शेयर सदस्य, नियमित मासिक बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य र २०७९ सालको एसईईमा उत्कृष्ट अङ्क ल्याउने दुई जना छात्रछात्रालाई नगद सहित सम्मान गरिएको थियो ।
यसैवीच शिक्षक कल्याण साकोसको नयाँ नेतृत्व समेत चयन हुने भनिए पनि यो समाचार तयार पार्दा सम्म चयन हुन सकेको छैन । सहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको संस्थाका व्यवस्थापक नविन काफ्लेले जनतापेजलाई जानकारी दिए ।