दोलखा, ०७ मंसिर । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था संस्था सम्मानित भएको छ ।
१२ औँ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा कार्यालय चरिकोटले बिहिबार उक्त सहकारीलाई सम्मान गरेको हो । जनसचेतनले आ.व. २०७८/७९ मा उद्योग व्यापार सेवा क्षेत्रबाट दोलखा जिल्लाभरमै सबैभन्दा बढी झण्डै ८१ लाख रुपैयाँ आयकर दाखिला गरेको थियो ।
मंसिर १ गतेदेखि सुरु भई ७ गते अर्थात बिहिबार सम्पन्न कर सप्ताहको अन्तिम दिन करदाता सेवा कार्यालय दोलखाका कर अधिकृत सम्झना गौतमले जनसचेतनको मूख्य कार्यालय मैनापोखरीमै पुगेर सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र हस्तान्तरण गरिन् ।