दोलखा, २५ कार्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई लिएर दोलखामा चुनावी सरगर्मी बढेको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा उपाध्यक्ष पदमा निर्वाचन हुँदैछ ।तत्कालिन उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएपछि सो पदमा निर्वाचन हुन लागेको हो ।
चुनावी सरगर्मी बढिरहेकै बेला गौरीशङ्करमा नेपाली कांग्रेस र नेकपा एमालेमा भने पहिरो जान थालेको छ। माओवादी केन्द्र गौरीशङ्करले शनिबार गाउँपालिका केन्द्र सुरीमा गरेको चुनावी सभामा एकैपटक एक दर्जन बढी नेता तथा कार्यकर्ता काङ्ग्रेस एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई बागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रिय सस्य विशाल खड्काले स्वागत गरेका थिए ।
माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी निमलेकी शेर्पा (डोल्मा) जिताउँ अभियान अन्तर्गत शनिबारको आमसभामा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष एवं माओवादी केन्द्रका युवा नेता विस्वास कार्की, विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली लगायतका नेताहरु सहभागिता रहेको थियो ।