दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ सिङ्गटी स्थित कालिनाग माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
समारोहको कार्यक्रमका प्रमुख अतिथि एवम् कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाठकको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सहायक प्रविन खत्रीले विद्यालयका आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रममा कालिन्चोक गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोशनी आचार्य, कालिन्चोक ३ का वडाध्यक्ष दलबहादुर तामाङ, कालिन्चोक ४ का वडाध्यक्ष दिपक खुलाल, कालिन्चोक ७ का वडाध्यक्ष राम पाण्डे, विगु ४ का वडाध्यक्ष रामचन्द्र खड्का, गौरीशङ्कर ३ का वडाध्यक्ष युगबहादुुर बस्नेत, समाजसेवी एवम् पूर्व नेपाली सेनाका पूर्व कर्णेल महेन्द्रजङ्ग शिवाकोटी, मेजर हेमप्रसाद शिवाकोटी, कालिनाग मावि पूर्व विद्यार्थी संघका अध्यक्ष दिपेन्द्र पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा कालिनाग माविले विद्यालयका तीन जना ज्येष्ठ अभिभावकहरुलाई सम्मान गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक मध्ये यो पटक तीन जनालाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तेजबहादुर खत्रीले जानकारी दिए । त्यस्तै विद्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना शिक्षक र दुई जना सहायक कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रमको अवसरमा कालिनाग माविमा शैक्षिक वर्ष २०८० मा उत्कृष्ट शैक्षिक उपलब्धीमा सहयोग पुर्याउने तीन जना शिक्षक र १५ जना विद्यार्थीहरुलाई छत्रप्रकाश पदमकुमारी शिवाकोटी छात्रवृत्तिबाट सम्मान तथा पुरस्कृत गरियो । दश लाख रुपैयाँको अक्षयकोष रहेको उक्त छात्रवृत्ति कोषका संरक्षक एवं पूर्व कर्णेल महेन्द्रजङ्ग शिवाकोटी तथा वार्षिक उत्सव समारोहका प्रमुख अतिथि कुलबहादुर बुढाथोकी लगायतले हस्तान्तरण गरेका थिए ।
कार्यक्रमकै अवसरमा विद्यालयका अन्य ९ जना विद्यार्थीहरुलाई समाजसेवी भीमप्रसाद ओलीद्वारा स्थापित भीमप्रसाद–इन्द्रमाया छात्रवृत्ति पनि प्रदान गरिएको छ । साथै गत कार्तिकमा सम्पन्न छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयका तर्फबाट विभिन्न विधामा पदक ल्याउने खेलाडी विद्यार्थीहरुलाई पनि नगद पुरस्कार र प्रमाण पत्र वितरण गरियो । उनीहरुलाई प्रति स्वर्ण रु. २०००, प्रति रजत रु. १००० र प्रति कास्य रु. ५०० सहित सम्मान गरिएको हो । त्यस्तै विद्यालयको शैक्षिक एवम् अन्य गतिविधीमा विभिन्न सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा योगगुरु शुरेशचन्द्र खड्काको प्रशिक्षणमा विद्यार्थीहरुले योग कला प्रदर्शन गर्नुको साथै शिक्षक र विद्यार्थीहरुका तर्फबाट विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत देखाइएको थियो ।
