चरीकोट, २९ मंसिर । राजधानीमा जारी नेकपा एमालेको महाधिवेशनमा दोलखाबाट १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । दोलखाबाट पदाधिकारी तर्फ उपमहासचिव देखि लेखा आयोगको सदस्यसम्मको उम्मेद्वारी परेको छ ।
केन्द्रिय उपमहासचिवमा दोलखाका आनन्द प्रसाद पोखरेलले उम्मेद्वारी दर्ता गराएका हुन् भने सचिव पदमा रचना खड्काले उम्मेद्वारी दर्ता गराईन् । हालका पोलिटब्युरो सदस्य पोखरेल ओली समूहबाटै सचिव पदको उम्मेद्वार बन्ने तयारीमा भए पनि प्यालनमा नपरेपछि पोखरेल समूहबाट उपमहासचिवको उम्मेद्वार बनेका हुन् । त्यसो त उनी पोखरेलसँग पनि टाढा भने थिएनन् ।
त्यस्तै एमाले विभाजनका बेला केही समय माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादीमा आवद्ध खड्का दशौँ महाधिवेशनमा केन्द्रिय सदस्य बनेकी थिइन् । माधव नेपालको साथ छोडेपछि बागमती प्रदेशको समानुपातिक सांसद बनेकी उनी छोटो समय मन्त्री समेत बनेकी थिइन् ।
अध्यक्ष केपी ओलीका नजिकका पात्र मानिने पोलिट ब्युरो सदस्य पार्वत गुरूङ भने यो महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेद्वार मात्र बनेका छन् । उनी कम्तीमा समावेशी कोटाबाट सचिव बन्ने दाउमा भए पनि आन्तरिक व्यवस्थापन मिलाउने क्रममा सचिव पदमा उनको नाम नअटेको हो । सचिव पदकै आकाङ्क्षी इश्वरी बहादुर रिजाल पनि केन्द्रिय सदस्य पदको उम्मेद्वार बनेका छन् । दोलखाबाट गुरूङ र रिजाल सहित पर्शुराम बस्नेत, गणेश बस्नेत र उर्मिला सुनुवार पनि केन्द्रिय सदस्य पदको उम्मेद्वार बनेका छन् । ओली खेमाको सुरूको नामावलीमा नअटाएका दुवै बस्नेतले असन्तुष्टले छाडेको स्थान पाएका हुन् भने सुनुवार महिला कोटाबाट उम्मेद्वार बनेकी हुन् । दुई बस्नेत मध्ये पर्शुराम दोलखामा जन्मिएका मात्रै हुन्, उनी विराटनगरमा बसेर एमालेको राजनीति गर्छन ।
त्यस्तै, दोलखाबाट इश्वरचन्द्र पोखरेलले पनि भूगोल तर्फ बागमतीबाट केन्द्रिय सदस्यको उम्मेद्वारी दर्ता गराएका छन् । एमाले दोलखाका पूर्व अध्यक्ष उनी ओली र पोखरेल दुवै प्यानलमा नखुले पनि ओली इतरका दोलखाली नेताहरूको दावी अनुसार पोखरेल खेमा तर्फै नजिक छन् । दोलखाबाट शान्ति पाख्रिन र डिल्लीध्वज बराइली भने केन्द्रिय लेखा आयोगको सदस्य पदमा चुनावी मैदानमा छन् । उनीहरू पनि ओली खेमाबाटै उम्मेद्वार बनेका हुन् ।
स्मरण रहोस्, महाधिवेशन प्रतिनिधि चयनमा ओली खेमा हावी भएको दोलखा एमालेले ओलीकै खेमाबाट पदाधिकारीमा भने कुनै अवसर पाएको छैन । ओलीकै निकट मानिने आनन्द पोखरेल लगायतका नेता पनि अन्ततः इश्वर पोखरेलको प्यानलमा जोडिएका हुन् ।



