काठमाण्डौ, ३१ बैशाख / नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी भइ फरार एमाले नेता टोपबहादुर रायमाझी काठमाण्डौबाट पक्राउ परेका छन् ।
आईतबार साँझ काठमाण्डौँको बुढानिलकण्ठ स्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले रायमाझीलाई पक्राउ गरेको हो । रायमाझी र उनका छोरा सन्दिप विरुद्ध जिल्ला अदालत काठमाडौबाट २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै बुटवलबाट पक्राउ गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी पनि संलग्न रहेको बयान दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले यही प्रकरणमा छानविनका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १२ जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई आईतबार नै जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुषन्धान गर्न अनुमति दिएको छ ।