दोलखा, १३ जेठ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार र सरोकारवालावीच भावनात्मक एकतामा जोड दिनुपर्ने निष्कर्ष सहित दोलखामा प्रथम बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दोलखाले सदरमुकाम चरिकोटमा शनिबार आयोजना गरेको सम्मेलनमा सरोकारवालाहरुले सबै पक्षको भावनात्मक एकता र प्रयासबाट मात्रै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने बताएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै पूर्व शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि सरकारदेखि सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । आफु शिक्षा मन्त्री रहँदा शिक्षा ऐन जारी गर्न अधिकतम प्रयास गरे पनि सफल हुन नसकेको स्मरण गर्दै पोखरेलले आफुले अहिले पनि प्रधानमन्त्री समक्ष शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न बारम्बार दवाव दिँदै आएको दावी समेत गरे । उनले विद्यालयको शैक्षिक सुधारका लागि प्रधानाध्यापक तोक्ने प्रणालीमा पुनविर्चार गरिनुपर्ने भन्दै सिनियर भन्दा सक्षम व्यक्तिलाई प्रधानाध्यापक बनाउनुपर्नेमा जोड दिए ।
सम्मेलनमा समाजवाद उन्मुख शिक्षाका अध्ययता लेखनाथ न्यौपानेले समाजवाद उन्मुख शिक्षाको मोडल र गन्तव्य तथा शिक्षाविद् राजकुमार बराल र लोकरञ्जन पराजुलीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, सामुदायिक विद्यालयहरुमा अब्बल मानिँदै आएका रामेछापको डहु मावि र चितवनको नारायणी माविका तर्फबाट विद्यालयमा भएका असल अभ्यासहरुका बारेमा प्रस्तुती दिईएको थियो ।
सङ्गठनका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रतिनिधी सभा सदस्य गङ्गा कार्की विश्व, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला ईन्चार्ज विशाल खड्का, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय सचिव रामबहादुर खड्का लगायत विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख, विभिन्न शिक्षक तथा विद्यार्थी संघसङ्गठनका प्रमुख, जिल्ला स्थित अधिकांश विद्यालयका प्रधानाध्यापक र शिक्षक लगायतको सहभागिता रहेको थियो ।