दोलखा, १९ साउन । दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ स्थित टोपाटारमा खसेको पहिरोमा परी बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ ।
पहिरोमा पुरिएकी स्थानीय ५० वर्षिया देवकुमारी थामी र स्थानीय टोपबहादुर थामीका ३ वर्षका छोरा प्रिन्स थामीको शव फेला परेको हो । पहिरोमा पुरिएका कृष्णबहादुर मगर र हरिलाल श्रेष्ठको अवस्था भने अहिलेसम्म अज्ञात छ । स्थानीय र प्रहरीले शुक्रबार दिनभरजसो खोजीकार्य गरे पनि मानविय बलले मात्रै सम्भव नभएको गौरीशङ्कर ८ का वडाध्यक्ष दावा शेर्पाले जानकारी दिए । विहिबार दिनभरजसोको अविरल वर्षाले सडकमा पनि क्षति पुर्याएकाले जेसिबी स्काभेटर लगायतका मेसिनलाई घटनास्थलसम्म पुर्याउन नसकिएको वडाअध्यक्ष शेर्पाको भनाई छ । शनिबार विहान सडक मर्मत गर्दै जेसिबी लगेर पुन बेपत्ताको खोजी कार्य गरिनेछ ।
पहिरोमा परि घाइते अवस्थामा उद्धार गरिएका स्थानीय यज्ञबहादुर थामी, उनकी श्रीमती धनमाया थामी र बुहारी सीता थामी मध्ये गम्भिर घाइते यज्ञबहादुर र धनमायालाई हेलिकप्टर र सामान्य घाइते सीतालाई एम्बुलेन्स मार्फत उपचारका लागि काठमाण्डौ पठाईएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रमुख प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिए ।
गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ को माथिल्लो सल्लेबाट सुरु भएको पहिरोले माथिल्लो सल्ले, तल्लो सल्ले, माथिल्लो फाक्टे, तल्लो फाक्टे हुँदै वडा नम्बर ७ को टोपाटारमा पनि क्षति पुर्याएको हो । पहिरोका कारण पूर्ण रुपमा क्षती भएका टोपाटारका ५ सहित तीन दर्जन घरका पाँच दर्जन बढी मानिसहरु बिस्थापित भएका छन् । बिस्थापित भएकाहरु फाक्टी डाँडा, हुर्पुङ प्रावि लगायतका स्थानमा वडा कार्यालयले व्यवस्था गरेको त्रिपाल टाँगेर बसेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । पहिरोमा परी झण्डै २ दर्जन पशु चौपाया पनि मरेका छन् ।
उक्त क्षेत्रमा सल्ले सहित अन्य स्थानमा पनि सानाठूला पहिरो खसेका छन् । शुक्रबार पनि दिउँसोदेखि नै अविरल वर्षा भइरहेकोले थप जोखिमका क्षेत्रमा सचेत रहन प्रहरीले आग्रह गरेको छ । पहिरोले विद्युतको पोलहरुमा क्षति पुर्याएसँगै प्रभावित क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको छ भने टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।