चरिकोट, २१ चैत्र । नेकपा माओवादी केन्द्र दोलखाको संयोजकमा कमल श्रेष्ठ ज्योति चयन भएका छन् ।
बुधबार बसेको पार्टीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले यस अघि जिल्ला सचिवको भूमिकामा रहेका श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएको हो । २०५१ सालबाट विद्यार्थी राजनीति सुरु गरेका श्रेष्ठ २०५७ सालमा तत्कालिन नेकपा माओवादीको पूर्णकालिन राजनीतिमा होमिएका थिए । विगत १७ वर्षदेखि पार्टीको प्रदेश कमिटी सदस्य रहँदै आएका उनी पछिल्लो साँढे दुई वर्ष यता माओवादी केन्द्र दोलखाको सचिवको जिम्मेवारीमा थिए ।
बैठकले माओवादी केन्द्र दोलखाको सचिवको जिम्मेवारी सन्तोष फुँयाललाई दिएको छ । फुँयाल पनि पार्टीको प्रदेश कमिटी सदस्य एवं तामाकोशी गाउँपालिकाको इन्चार्ज हुन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको हालै सम्पन्न बैठकले पार्टीबाट जननिर्वाचित प्रतिनिधिहरुलाई पार्टीको कार्यकारी भूमिकामा नराखी जनताका काममा केन्द्रित गराउने निर्णय गरेसँगै यसअघिका संयोजक कुलबहादुर बुढाथोकी रोशन सो पदबाट मुक्त भएका थिए । बुढाथोकी दोलखाको कालिञ्चोक गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुन् । प्रदेश कमिटीको निर्णय हाल दोलखा सहित रामेछाप र मकवानपुरमा लागु भइसकेको छ ।
बुधबारको विस्तारित बैठकमा पार्टीका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, अन्य केन्द्रिय सदस्यहरु शङ्कर लामा, नर बहादुर पाख्रिन, नविन जिरेल, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला सचिवालय सदस्य एवं जिल्ला समन्वय समितिका सदस्यहरु, विभिन्न जनवर्गिय सङ्गठनका इन्चार्ज एवं प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।