काठमाण्डौ, १४ असोज । प्रधानमन्त्रीको निर्देशनपछि नेपाल आयल निगमले शनिबार रातीबाट लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य वृद्धि फिर्ता लिएको छ ।
आफुलाई जानकारी नगराई चाडपर्वको मुखैमा मूल्य वृद्धि गरेको प्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका थिए । निगमले विज्ञप्ति जारी गरी प्रधानमन्त्री पुष्पकमल दहालको निर्देशन बमोजिम स्वचालित मूल्य कायम रहने गरी हाल भएको मूल्य वृद्धिलाई स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी शनिबार भएको मूल्यवृद्धि आइतबार राती १२ बजेबाट फिर्ता हुने जानकारी दिएको छ ।
निगमले शनिबार मध्य रातीबाट लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २१५ रुपैयाँ वृद्धि गरेको थियो ।