चरीकोट, १३ मंसिर । दोलखामा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला कार्यालय उद्घाटन भएको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय रहेको रीत बहादुर स्मृति प्रतिष्ठानको भवनलाई नै नेकपाको जिल्ला पार्टी कार्यालयका रूपमा उद्घाटन गरिएको हो । विघटित प्रतिनिधि सभाका सदस्य एवम् तत्कालिन माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य गङ्गा कार्की विश्वले नेकपामा नेता तथा कार्यकर्ताहरूको माझमा कार्यालय भवनको उद्घाटन गरे ।
कार्यालय भवन उद्घाटन पश्चात जुलुस सहित बजार परिक्रमा गरेर चरीघ्याङ स्थित एक पार्टी प्यालेसमा आयोजित सभामा नेकपाका विभिन्न तहका नेताहरूले सम्बोधन गरे । सभालाई नेपाली कम्युनिष्ट पार्टीका नेताहरू गङ्गा कार्की, विशाल खड्का, मुक्ति प्रधान, महेन्द्र बहादुर कार्की, भरत प्रसाद दुलाल, भीम प्रसाद दाहाल, अशोक दाहाल, कल्याण दाहाल, युवराज खत्री, मिनकुमार शिवाकोटी, भरतरोन श्रेष्ठ लगायत दर्जन भन्दा बढी नेताले सम्बोधन गरे ।

सम्बोधनका क्रममा नेताहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकताको शिलशिला जारी नै रहेको भन्दै सम्पूर्ण बामपन्थी शक्तिहरूलाई एकै छातामुनि गोलबन्द हुन आह्वान गरे । बामपन्थी शक्तिहरूको यो एकता बाहिरी स्वरूपमा मात्र नभई भित्रैबाट भावनात्मक रूपले हुनुपर्नेमा जोड दिँदै एकताले मात्रै देशको अवस्था परिवर्तन गर्न सम्भव भएको उनीहरूको भनाइ थियो । अहिले पनि एकतालाई भाँड्न, भड्काउन र असफल पार्न विभिन्न तत्वहरू सक्रिय रहेको भन्दै उनीहरूले त्यस्ता शक्तिहरूबाट सचेत रहन आम नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, माओवादी कम्युनिष्ट केन्द्र, जनसमाजवादी पार्टी, नेकपा बहुमत लगायतका दल मिलेर गठित नेपाली कम्युनिष्ट पार्टीको उद्देश्य सत्ता प्राप्ती भन्दा पनि देश बचाउने र देशको सर्वोपरी हितमा उन्मुख रहेको उनीहरूले प्रष्ट पारे ।

लामा आम कार्यकर्ता भन्दा पनि जिल्ला, पालिका र वडास्तरका नेता र अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिती रहेको थियो । नेकपा दोलखाले यही मंसिर महिना भित्र जिल्लाका सबै पालिकामा एकताको सन्देश दिन आमसभा गर्ने जनाएको छ ।



