दोलखा, १० असार । दोलखाको मेलुङ गाउँपालिकाले आगामी आव २०८२/८३ का लागि ५३ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
पालिकाको चालु १७ औँ गाउँसभामा मङ्गलबार पालिका उपाध्यक्ष गायत्री आचार्यले ५३ करोड ७ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरिन् । सार्वजनिक गरिएको बजेटमा पूर्वाधार विकासलाई प्राथमिकताका साथ १३ करोड ६० लाख बजेट विनियोजन गरिएको छ । गाउँसभामा पालिका अध्यक्ष हिरा कुमार तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास अन्तर्गत गाउँपालिका भित्रका सडकको कालोपत्रे र स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै कृषि, शिक्षा र स्वास्थ्य तर्फ क्रमशः १ करोड ५८ लाख, १ करोड ५२ लाख र ७६ लाख ५० हजार विनियोजन गरिएको छ । कृषिमा औषधी तथा औजार व्यवस्थापन, माटो तथा पशु स्वास्थ्य शिविर, उत्कृष्ट कृषकलाई प्रोत्साहन, सम्मान, कृषक तथा कृषि यन्त्र मर्मत तालिम, गँड्यौला मल उत्पादन तालिम लगायतका विषय समेटिएको छ भने शिक्षा तर्फ उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान तथा पुरस्कार, स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तकको विकास, शिक्षा तथा खेलकुद विकास कोषको स्थापना जस्ता विषय छन् । स्वास्थ्य क्षेत्रमा माहामारीजन्य रोग नियन्त्रण कार्यक्रम, जिरो होम डेलिभरी घोषणा, एम्बुलेन्स सेवा सन्चालन र ल्याब सेवा सञ्चालन जस्ता विषय समावेश छन् ।

प्रस्तुत बजेटमा संघ र प्रदेश अनुदानबाट १२ करोड बढी, संघ प्रदेश र स्थानीय तह राजश्व बाँडफाँडबाट १० करोड भन्दा बढी, आन्तरिक स्रोतबाट ५७ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ । साथै संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदान पनि बजेटको आम्दानीको रूपमा राखिएको छ । अध्यक्ष थोकरले पेश गरेको नीति तथा कार्यक्रममा त्यसरी प्राप्त हुने बजेटमा गाउँपालिकाले थप साझेदारी गरी पूर्वाधार विकासका ठूला योजनाहरू सञ्चालन गरिने उल्लेख छ । (तस्बीर सौजन्यः मेलुङ गाउँपालिका)



