दोलखा, २ असार । जनयुद्धका सहिद रित बहादुर खड्का प्रतापको २२ औँ स्मृति दिवस, आज विविध कार्यक्रमका साथ मनाइँदैछ ।
२०२८ सालमा दोलखाको जुँगुमा जन्मिएका रितबहादुरको जनयुद्धका क्रममा २०५९ असार २ गते रौतहटको पिपराहमा तत्कालिन सरकारी सुरक्षा फौजको गोली प्रहारबाट निधन भएको थियो । तत्कालिन विद्रोही माओवादीका केन्द्रिय सदस्य रहेका उनको भारतमा भएको पार्टीको बैठकमा सहभागि भएर फर्कने क्रममा थिए । कलिलै उमेरमा क्रान्तिमा लागेका खड्का दोलखाका जनयुद्धका संस्थापक नेता हुन् । साहित्यमा पनि रुचि राख्ने उनलाई पूर्वको चम्किलो तारा उपनामले पनि चिनिन्थ्यो । जनयुद्धमा पूर्वी क्षेत्रको कमाण्ड गरिरहेका रितबहादुरको निधन पछि माओवादीले वर्षमान पुनलाई पूर्वी कमाण्डको नेतृत्व दिएर पठाएको थियो ।
प्रताप स्मृति कलेजमा वृक्षारोपण
बाइसौँ प्रताप स्मृति दिवसको अवसरमा दोलखाको कालिन्चोक ३ सिङ्गटी स्थित प्रताप स्मृति कलेजमा वृक्षारोपण गरिएको छ । आइतबार विहान कलेजका प्राचार्य रामबहादुर खड्का, प्राध्यापक एवं कालिनाग माविका प्रधानाध्यापक दाताराम नेपाल लगायत शिक्षक र विद्यार्थीहरुको उपस्थितीमा क्याम्पस परिसरमा २२ थान कफिका विरुवा रोपिएको हो । देशमै सहिदहरुको नाममा सन्चालित एक मात्र कलेज प्रताप स्मृति कलेजमा झण्डै दुई सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
सिङ्गटीमा १०१ विरुवाहरु रोपिँदै
दोलखाको उत्तरी सिङ्गटी बजारमा पनि रितबहादुर स्मृति दिवसको अवसरमा १०१ ओटा विविध प्रजातिका विरुवा रोपिँदै छ । सिङ्गटी बजार र खोलिखिम खेल मैदानको आसपासमा पिपल, बर, समी, अशोक लगायतका विरुवा रोप्न लागिएको हो । उक्त कार्यक्रममा सहभागि हुन माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज, सहिद रितबहादुरका सहोदर भाई विशाल खड्का, अर्का केन्द्रिय सदस्य एवं वरिष्ठ पत्रकार बलराम थापा लगायत माओवादीका केन्द्र र जिल्ला स्तरका नेताहरु सिङ्गटी भेला भएका छन् ।
बाइसौँ प्रताप स्मृति दिवसकै दिन अखिल क्रान्तिकारी दोलखाको जिल्ला सम्मेलन पनि आइतबार नै सिङ्गटीमा हुँदैछ । सो सम्मेलनमा जिल्लाभरका तीन सय भन्दा बढी प्रतिनिधिहरु सहभागि हुने जनाइएको छ ।